सन्दीपले होबार्ट हरिकेन्सबाट बीबीएल खेल्ने

सन्दीपले होबार्ट हरिकेन्सबाट बीबीएल खेल्ने

काठमाडौँ   - नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–२० क्रिकेट होबार्ट हरिकेन्सबाट खेल्न भएका छन् ।​ होबार्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ। सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् ।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले खेलेको दुबै सिजनमा स्टार्स फाइनलमा पुगेको थियो । सन्दीपले दुई सिजनमा २० इनिङ्स खेल्दा ७ दशमलव २७ को इकोनमीमा २६ विकेट लिएका छन् । बीबीएलमा उनको उच्च प्रदर्शन चार ओभरमा ११ रन दिएर तीन विकेट लिनु हो ।

सन्दीपले बीबीएल २०१८ मा सात इनिङ्समा ११ विकेट लिएका थिए । गत सिजनमा उनले १३ म्याचमा १५ विकेट हात पारेका थिए । यसअघि हरिकेन्सले विदेशी खेलाडीको रूपमा किमो पउल, कोलिन इन्ग्राम, टिम डेविड, डेविड मलानलाई अनुबन्ध गरिसकेको छ ।

सन्दीपसहित हरिकेन्सले विदेशी खेलाडीको रूपमा पाँच जनालाई अनुबन्ध गरिसकेको छ ।  यो पटक नयाँ नियमअनुसार प्लेइङ–११ मा तीन विदेशी खेलाडी राख्न पाइने छ ।

१० औँ सिजनको बीबीएल १० डिसेम्बरदेखि सुरु हुनेछ । उद्घाटन खेलमा होबार्ट हेरिकेन्स र सिड्नी सिक्सर्स खेल्ने छन् । सिड्नी गत सिजनको विजेता टिम पनि हो ।