पासाङ दोर्जी शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

पासाङ दोर्जी शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ म्युजिक भिडियो सार्वजनिक  (भिडियोसहित)

काठमाडौँ - नवगायक पासाङ दोर्जी शेर्पाको  पहिलो गीत ‘चिहाएर हेर्ने आँखा राम्रो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । माई क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो आइतबार काठमाडौँमा सार्वजनिक गरिएको हो । थिर थापा मगरको शब्द तथा पदम राना मगरको संगीत संयोजन रहेको गीतमा पासाङ दोर्जी शेर्पाको स्वर सुन्न सकिन्छ । भिडियोको निर्देशन तथा सम्पादन  मिङमा शेर्पाले गरेका हुन् ।

म्युजिक भिडियोमा फुर्किम शेर्पा र गायक पासाङ दोर्जी शेर्पाको अभिनय रहेको छ । साथै भिडियोमा एडी शेर्पा, फुर्वा डोमा शेर्पा, आङ छेलिङ शेर्पा, ल्हाक्पा डोमा र छिरिङ दावा शेर्पा लगायतलाई देख्न सकिन्छ । गीत हिट हुनेमा विश्वस्त रहेको गायक पासाङ दोर्जी शेर्पाले सुनाए । म्युजिक भिडियोको छायाङ्कन सोलुखुम्बुको  केरुङ्को पत्ताले, चागेस्थान र ताक्पीलोको विभिन्न स्थानमा गरिएको छ ।

म्युजिक भिडियो माई क्रियसन मिडियामार्फत आइतबारदेखि बजारमा आएको गायक शेर्पाले बताउनुभयो ।

 

को हुन् फुर्किमा ?

फुर्किमा शेर्पा सोलुखुम्बु जिल्ला सोताङ गाँउपालिकाको सुन्दर गाउँ चेपेलमा जन्मेकी हुन् । उनी शेर्पा समुदायको कुशल उद्घोषक समेत हुन् । उनले शेर्पा सञ्चार समूह नेपालमा एक कार्यकाल अध्यक्षका रूपमा बिताएकी छिन् । हाल निवर्तमान अध्यक्ष रहेकी शेर्पा   पत्रकारिता पेशा अँगालेर शेर्पा समुदायका युवालाई अघि बढाउने उद्देश्य लिएर अघि बढेकी उनी अब मोडेलिङ  फिल्डबाट काम गर्न अघि सरेकी छिन् ।

‘म मेरो भविष्य उज्ज्वल बनाउने मात्र हैन’, उनी भन्छिन्,  ‘मैले गर्ने कार्यले समाज परिवर्तनको दिशामाअघि बढोस् भन्ने चाहन्छु ।’ आफ्नो पहिलो प्रयासमा सबैको साथ पाउने उनको अपेक्षा छ ।