‘ब्युटिफूल’ निलमका गम्भीर गुनासा (भिडियोसहित)

‘ब्युटिफूल’ निलमका गम्भीर गुनासा (भिडियोसहित)

काठमाडौं - निलम पौडेल जन्मँदा पुरुष भए पनि यौनिकता र महिला अंग प्रत्यारोपणपछि पारालिंगी महिला बनेकी एक संघर्षशील – मेक अप आर्टीस्ट हुन् । 

सुन्दरपुर–हरैचा मोरङकी निलमले आफ्नो जीवनका जति वशन्त जसरी काटेकी छिन्, त्यो पनि भन्दा पनि संघर्षका विकट उकाली ओराली आत्मविश्वास, दृढता र मेहनतले छिचोलेकी छिन् । 

१३–१४ वर्षको उमेर छँदा आफ्नो यौनिकता थाहा पाएकी निलमले छोटो समयमै देश–विदेश गर्दै बाँच्नका लागि संघर्ष गरिन् । नेपालमा यौनिक अल्पसंख्यक प्रति गरिने विभेदको नमीठो स्वाद पनि चाखिन् । विभेदलाई नै जीवन सफल पार्ने शक्तिमा रुपान्तरण गर्दै यौनिक अल्पसंख्यकहरुको अधिकार र सम्मानकालागि काम पनि गरिन् । 

स्कुल पढ्दादेखि नै निलमले आफ्नो यौनिकताबारे थाहा त पाइन् तर यसबारे उनले आफ्नो परिवारमा खुलेर जानकारी दिन सकिनन् । १६ वर्षको उमेरमा धरानमा एक रेडियो स्टेसनमा अन्तर्वार्ता दिएर उनले आफू यौनिक अल्पसंख्यक रहेको उद्घोष गरिन् । 

स्कुलको अध्ययन पूरा भएपछि आर्थिक अभावका कारण कलेज पढ्न सम्भव भएन । सन् २००९ मा कामको खोजीमा पुरुष कै पहिचानमा कतार पुगिन् । कतारमै गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनको शरिर महिलाको जस्तो पाइएको भन्दै त्यहाँबाट उनलाई रित्तो हात नेपाल फिर्ता पठाइयो । 

दुवईमा पारालिंगी महिला नै खोजिरहेको एक दम्पत्तिले निलमलाई रोजगारीको प्रस्ताव राखे । त्यसपछि उनको पाँच वर्ष दुवईमै बित्यो । उनले आफ्नै पहिचानमा दुवईमा रोजगारी पाइन् । पाँच वर्षे दुवईको रोजगारीले उनलको आर्थिक अवस्था केही सम्हालियो । 

दुवईबाट नेपाल आएलगत्तै दायाँबायाँ केही नसोची बैंकक उडिन् । बैंककै एक अस्पतालमा स्तन प्रत्यारोपण गराइन् । स्तन प्रत्यारोपणको पीडा, उल्झन र समस्याको बेग्लै ठूलो कथा बन्न सक्छ । 

नेपाल फर्केपछि फेरि अर्को चरणको संघर्ष सुरु भयो । जीवन चलाउन एक पेशा रोज्नै पर्ने थियो । उनले मेकअप आर्टिस्टका रुपमा आफूलाई स्थापित गर्दै लगिन् । उनको संघर्ष र समर्पणको नतिजा स्वरुप निलम अहिले मेक अप आर्टिस्टकका रुपमा नेपाली रंग क्षेत्रमा क्रियाशील छिन् । उनको परिचय – मेक अप आर्टीस्ट र ट्रान्स जेन्डर मोडलका रुपमा नेपालमा स्थापित भएको छ । 

यौनिक अल्पसंख्यकले खोजेको सम्मान, रोजगारीको सुनिश्चितता, कानुनी अधिकार मात्रै नभएर यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अधिकार वर्तमान विश्वमा बहसको विषय बनेको छ । यस्तो बहस नेपालमा पनि सुरु भइसकेको छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।