के कारण हुन्छ लङ कोभिड ? कसरी बच्ने ? यस्ता लक्षण देखिए लङ कोभिड हुने खतरा !

के कारण हुन्छ लङ कोभिड ? कसरी बच्ने ? यस्ता लक्षण देखिए लङ कोभिड  हुने खतरा !

काठमाडौँ - कोरोना भाइरस संक्रमण भएपछि निको हुन सामान्यतया दुई हप्ता लाग्छ । कतिपयलाई तत्कालै निको हुन्छ भने कतिपयलाई महिनौँसम्म असर गर्छ । लामो समयसम्म कोरोना संक्रमितमा असर देखिनुलाई लङ कोभिड भन्छन । लङ कोभिड किन हुन्छ र यसबाट कसरी बच्न सकिन्छ ?

सामान्यतया कोरोना संक्रमण भएपछि निको हुन दुई हप्ता लाग्छ । त्यसैले संक्रमणको आशंका लागेमा वा संक्रमित व्यक्तिसँग सम्पर्कमा पुगेका दुई हप्ता आइसोलेसनमा बस्न चिकित्सकहरू सुझाव दिन्छन । खोकी, ज्वरो र अत्यधिक थकान सबैभन्दा बढी देखिने लक्षण हुन । निको भएर घर फर्किसकेका कोरोनाका विरामीमा पनि समस्या देखिने गरेको छ । हुन त, कतिपयलाई लक्षण नै देखिदैैन भने कतिपयलाई लामो समयसम्म देखिन्छ ।

यस विषयमा वैज्ञानिकले विभिन्न अनुसन्धान गरिरहेका छन् । किङ्स कलेज लन्डनले गरेको अनुसन्धानअनुसार कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु दीर्घ कोभिडका संकेत हुन सक्छन् ।

अनुसन्धानअनुसार संक्रमणको पहिलो हप्ता थकान, टाउको दुख्ने, सास लिन गाह्रो हुने, आवाज पनि भारी हुने, मांसपेशी र शरीर दुख्नेजस्ता लक्षण देखिए भने लङ कोभिड अर्थात् दीर्घ कोभिड हुने खतरा हुन्छ  ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भएको ४ देखि ८ हप्तासम्म पनि सञ्चो भएन भने बिरामीलाई दीर्घ कोभिड हुने खतरा हुन्छ । यस्ता बिरामीमा कोरोना नेगेटिभ भइसकेर पनि रुघा, खोकी, सास लिन गाह्रो हुने, मांसपेशी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भइरहन्छ ।

लङ कोभिड के हो ? यसरी बुझौं

- दीर्घ कोभिड (लङ कोभिड) को वैज्ञानिक परिभाषा छैन । जुन बिरामीलाई कोरोना नेगेटिभ भइसकेर पनि महिनौं लक्षण र असर देखिइरहन्छन्, त्यही नै दीर्घ कोभिड हो ।

– दीर्घ कोभिड भएका मानिसमा पनि लक्षण अलग अलग देखिन सक्छन् । तर साझा समस्या हो– थकान । यसबाहेक यस्ता बिरामीमा सास लिन गाह्रो हुने, खोकी, जोर्नी तथा मांसपेशीको दुखाइ, सुन्न/ देख्नमा समस्या तथा टाउको दुख्ने हुन्छ ।

– यस्ता बिरामीमा आन्द्रा, मिर्गौला, फोक्सो र मुटुमा क्षति पुग्न सक्छ। संक्रमण मुक्त भइसकेर पनि डिप्रेसन, बेचैनीजस्ता समस्या देखिन्छन् ।

– लङ कोभिड (दीर्घ कोभिड) शब्दको प्रयोग सबैभन्दा पहिला एलिसा पेरेगो (युनिभर्सिटी लन्डनका अनुसन्धान सहयोगी) ले गत मे मा आफ्नो कोभिड–१९ अनुभव सेयर गर्ने क्रममा गरेका थिए । त्यसपछि धेरै जनाले यस्तै अनुभव गर्न थाले ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार अन्य रोगका विरामी जस्तै कोरोनाभाइरसमुक्त भएका मानिसहरूले सामान्य रूपमा जीवनयापन गर्ने अपेक्षा गर्छन । तर, लङ कोभिडका कारण धेरै किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ । जिउ तात्ने तर ज्वरो नहुनेदेखि सामान्य काम गर्न समेत गाह्रो हुने अवस्थासम्म मानिसहरू पुग्ने गरेका छन् ।

नेपालमा सुरु देखि नै कोरोना संक्रमितको उपचारमा सक्रिय विषेशज्ञ डा। पुन कोभिड–१९ नयाँ विषय भएकाले थप अध्ययन आवश्यक भएको बताउँछन् । औषधि पत्ता लागिनसकेको र संक्रमण तीब्र गतिमा फैलिरहेको अवस्थामा जनस्तरबाटै कोरोनाबाट बच्ने उपाय अबलम्बन गर्न जरुरी रहेको चिकित्सकहरू बताउँछन् ।