सरकारको खर्च र आम्दानी असन्तुलित, राजस्व उठेभन्दा ३६ अर्ब बढी खर्च

सरकारको खर्च र आम्दानी असन्तुलित, राजस्व उठेभन्दा ३६ अर्ब बढी खर्च

काठमाडौँ -  सरकारले चालु आर्थिक वर्षमा  हालसम्म गरेको खर्च र आम्दानीको प्रवृत्तिलाई हेर्दा असन्तुलित देखिन थालेको छ । झण्डै साढे तिन महिनाको अबधिमा राजस्व संकलन एक खर्ब ८७ अर्ब उठेको छ भने खर्च दुई खर्ब २३ अर्ब भएको छ । 

सरकारले चालु आर्थिक वर्षको कार्तिक १२ गतेसम्म एक खर्ब ८७ अर्ब राजस्व संकलन गरेर दुई खर्ब २३ अर्ब खर्च गरेको छ । सरकारले हालसम्म गरेको खर्च र आम्दानीको प्रवृत्तिलाई हेर्दा अहिले नै ३६ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ बढी खर्च गरेको हो । 

कोभिडका कारण आर्थिक क्रियाकलाप सञ्चालन भएर अर्थतन्त्रको पुनरुत्थान आगामी महीनाहरूमा पनि हुने सम्भावना कम देखिएका कारण सरकार यो वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल हुने जोखिममा छ । 

सरकारले चालु आर्थिक वर्षमा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । सो राजस्वमध्ये ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख कर राजस्व हो भने ९८ अर्ब ८० करोड ९४ लाख गैर कर राजस्व हो । यसका साथै सरकारले चालु आवको यो अवधिसम्म अन्य रिसिप्टबाट २३ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । लक्ष्यअनुसार राजस्व उठाउन सरकारले बाँकी नौ महीनामा ८ खर्ब २५ अर्ब १५ राजस्व संकलन गर्नुपर्छ ।

कति भयो खर्च ?

सरकारको आम्दानी मात्रै न्यून भएको होइन्, लक्ष्यअनुसार खर्च पनि गर्न सकेको छैन । चालु आर्थिक वर्षको दशैं अघिसम्म जम्मा सरकारले कुल दुई खर्ब २३ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ । सो खर्चमध्ये दुई खर्ब २३ अर्ब ५ करोड चालु खर्च अर्थात कर्मचारी तथा मन्त्री तथा सांसदहरूको तलव भत्ता तथा प्रशासन खर्च, स्थानीय तहको अनुदान आदिमा खर्च हो । चालु खर्चको स्थानीय तहलाई दिइएको वित्तीय हस्तान्तरणसहितका कतिपय रकम विकासलक्षित पूँजीगत कामका लागि पनि खर्च हुन्छ । सरकारले चालु आवमा सो शीर्षकअन्तर्गत ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य तय गरको छ । सो खर्च कुल चालु खर्चको २०.४९ प्रतिशत हो ।

कति उठायो अनुदान ?

सरकारले चालु आवमा विभिन्न विकास साझेदारबाट ६० अर्ब ५२ करोड ७७ लाख अनुदान लिने योजना बनाएको थियो । सोमध्ये अहिलेसम्म ५ अर्ब १६ लाख अनुदान सहयोग प्राप्त भएको छ । त्यो खर्च र आम्दानि परिपुर्ति गर्न पर्याप्त भने हुने छैन ।