आज मोहम्मद डे, नेपालसहित विश्वभर मनाइँदै

आज मोहम्मद डे, नेपालसहित  विश्वभर मनाइँदै

काठमाडौँ - नेपालसहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्म जयन्ती  मनाइँदै छ ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।

‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।

तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् । मोहम्मदको जन्मजयन्तीको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदासमेत दिएको छ ।  

मुस्लिम अगुवाहरुले मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त संघर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन भएको छैन ।