सरकार भन्छ : कोरोना नियन्त्रणमै छ, विज्ञ पत्याउँदैनन्

सरकार भन्छ : कोरोना नियन्त्रणमै छ, विज्ञ पत्याउँदैनन्

काठमाडौँ - कोरोना संक्रमित र मृतकको संखया दिनहुँ बढ्दैगर्दा पनि सरकारले नियन्त्रणका लागि महत्त्वपूण काम गरेको दाबी गर्दै आएको छ । तर विज्ञ भने सरकारको काम प्रभावकारी नभएकाले केही समयमै भयावह स्थिति आउनसक्ने चेतावनी दिन्छन् ।

सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि उल्लेख्य काम गरेको दाबी गरिरहँदा संक्रमितको संख्या दिनहँु बढिरहेको छ । संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढेको छ । देशभर त्रास बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको काम उराठलाग्दो नभएको प्रतिक्रिया दिएका छन् । संविधान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा ओलीले कोरोना संक्रमण नियन्त्रणमा उत्साहजनक काम गरिरहेको दाबी गरेका हुन् । 

प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणमै रहेको दाबी गरिरहँदा विज्ञ भने त्यसलाई मान्न तयार छैनन् । प्रधानमन्त्री मन्त्री तथा सरकारका पदाधिकारीले भनेजस्तो परिणाम नआएको उनीहरूको भनाइ छ । दिनहुँ ठूलो परिमाणमा संक्रमित फेला पर्नु र मृतकको संख्या बढ्नुले सरकारको काम सन्तोषजनक नभएको प्रष्ट हुने विज्ञ बताउँछन् । 

संक्रमण नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञा खुकुलो मात्र पारिएको छैन व्यापार व्यवसाय र सार्वजनिक यातायात समेत खुला गरिएको छ । यसका कारण सर्वसाधारणको चाप बढेको छ । ‘अब आफ्नो सुरक्षा आफैँ गर’ भनेजस्तोगरी सबै क्षेत्र खुला गर्ने र कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गरिरहेका छौँ भन्ने द्वैध चरित्रबाट सरकार मुक्त हुनै पर्छ ।