सहज छैन मन्त्रिमण्डल पुनर्गठन, नेतापिच्छेका उम्मेद्वार

सहज छैन मन्त्रिमण्डल पुनर्गठन, नेतापिच्छेका उम्मेद्वार

काठमाडौँ - सत्तारुढ नेकपाले मन्त्रीमण्डल पुर्नगठनको कामलाई तिव्रताका साथ अघि बढाउने भएको छ । केही मन्त्रीहरुको योग्यता, क्षमतामा प्रश्न उठेको र खाली मन्त्रालयमा नेतृत्व दिनुपर्ने भएका कारण पुर्नगठनको तयारी थालेको नेकपाले जनाएको हो ।

पछिल्लो समय नेकपाका सरकार र मन्त्रीहरूको कामकारवाहीबारे प्रश्न उठिरहँदा नेकपाले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेको छ । विवादको चुरोको रूपमा रहेको मन्त्रिमण्डल पुनर्गठनको काम छिटै सके सरकारको काम प्रभावकारी ढंगले अघि बढाउन सकिने निष्कर्षमा नेकपा पुगेको होे । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने टुंगो नलागे पनि त्यसको मापदण्ड भने तोकिएको आइतबार बसेको सचिवालय बैठक जनाएको छ । तर, विवादित भएरै पनि राष्ट्रियसभामा गएका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने आफूहरु मन्त्री बन्ने कुरा नरहेको बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली गृह, खानेपानी मन्त्रालयको जिम्मेवारी बदल्ने मनस्थितिमा देखिन्छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल रक्षा र परराष्ट्रको जिम्मेवारी हेरफेर हुनुपर्ने अडानमा देखिन्छन् । अर्का वरिष्ठ नेता माधव नेपाल भने नयाँ अनुहारलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिइरहेका छन् । तर, विज्ञहरु भने हाल भएका कुनै मन्त्रीको कामकारवाही पनि प्रशंसायोग्य नदेखिएको र अब पनि नदेखिने दाबी गर्छन् ।

मन्त्रिमण्डल पुनर्गठनमा मापदण्ड तोकेरै सदस्यहरुको हेरफेर गर्न लागेको नेकपा सरकारको कामकारवाहीप्रति भने जनमानसमा असन्तुष्टि बढ्दैछ । तर नेतृत्व भने अयोग्य व्यक्तिलाई ल्याएर भए पनि भागबण्डा समीकरण पूरा गर्ने मनस्थितिमा देखिएको छ ।