समाचार

प्रदेशमा भएको एक मात्र ग्यास उद्योगमा मेसिन बिग्रदा अक्सिजन आपूर्तिमा समस्या


काठमाडौँ – नेपालको सुदूरपश्चिमी जिल्लामा कैलालीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार रातिदेखि बिग्रिएको छ । उक्त प्लान्ट बिग्रिदा दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आइरहेकोमा अहिले त्यो पनि रोकिन पुगेको छ ।
कोरोनाको दोस्रो लहरलले निकै प्रभाव पारेका सुदूरपश्चिम प्रदेशमा मेसिन बिग्रदा झनै अवस्था गम्भीर बनेको छ । अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको एक मात्र ग्यास उद्योगको प्लान्ट बिग्रदा अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार यहाँका अस्पतालहरुमा अक्सिजन अभाव हुँदा यसै ग्यास उद्योगले धान्ने गर्छ । उद्योगमा काम रोकिनाले अब थप समस्या सिर्जना हुने देखिएको छ । उद्योग मर्मतका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र त्यसका लागि पहली कदम चालिसकेको उनले जानकारी दिए ।