कोरोना विशेष

भोलिदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने


काठमाडौँ – वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ ।

विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो ।

भोलिदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । यो सेवा लागु भएसँगै पुनः श्रम स्वीकृति लिन विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उहाँले बताउनुभयो । एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणका आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको दाहालले बताउनुभयो ।

नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेसन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको दाहालले बताउनुभयो । अबको दुई महिनाभित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइनमार्फत दिन सक्ने गरी काम भइराखेको बताउनुभयो ।

वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरे विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति ९एफईआईएमएस० मार्फत फाराम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हट्ने पनि महानिर्देशक दाहालले बताउनुभयो ।