समाज

ताप्लेजुङको मेरिङदेनमा १५ दिने पत्रकारिता तालिम समपन्न


काठमाडौँ – ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा १५ दिने उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।
शेर्पा सञ्चार समूह नेपाल मेरिङदेन शाखाको आयोजनामा भएको तालिममा मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश चोङ्वाङ (लिम्बू)को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तालिममा शेर्पा समुदायका ३२ जना युवाको सहभागिता रहेको थियो । गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा सात दिन शेर्पा भाषा र आठ दिन नेपाली भाषामा समाचार लेखन तथा उद्घोषण तालिम सञ्चालन भएको शेर्पा संञ्चार समुह नेपाल मेरिङदेन शाखाका अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाले तालिमले बोल्ने सीप प्रदान गरेको र थप आत्मविश्वास बढेको बताउनुभयो । बोल्ने सिप विकास गर्न तथा दक्ष उद्घोषक उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश चोङ्वाङ (लिम्बू)ले उद्घोषण तथा पत्रकारिता तालिम जीवन उपयोगी सीप भएको र समय सान्र्दभिक भएको भन्दै शेर्पायुवाहरुको लागि यस्तो तालिम जरुरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा गाउँपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि शेर्पा सञ्चार समूह नेपालका केन्द्रीय सचिव मिङमा शेर्पाले प्रशिक्षकले सिकाएको सीपलाई विद्यार्थीले सदुपयोग गर्दै गाउँमा हुने विभिन्न समूहको नेतृत्व गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाले बर्सेनि आयोजना गर्ने यस किसिमको कार्यक्रम निकै प्रभावकारी भएको अनुभव पनि उहाँले सुनाउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गर्न सके तालिम फलदायी हुने बताउनुभयो ।
कार्यक्रम बौल्दै मेरिङदेन गाउँपलिका–१ का वडाध्यक्ष लाक्पा तेम्बा शेर्पाले तालिमले ग्रामिण क्षेत्रका युवाहरुको सञ्चार क्षेत्रमा व्यापक उपस्थिती बढ्ने र पछाडी परेका क्षेत्र, वर्ग र समुदायको विकास र उत्थानमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय सदस्य दावा शेर्पा (डिएन) ले तालिमले शेर्पा समुदायको विकास र उत्थानका लागि महत्वपुर्ण रहेको बताउनुभयो । तालिमको सहजिकरण सन्तोष पुर्कुटी, सोनाम याङ्जी शेर्पा र सन्देश शेर्पाले गरेको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीेले तालिमले अगाडि उभिएर बोल्ने डर हटेको र बोल्ने कलामा धेरै कुराको ज्ञान प्राप्त गरेको भन्दै तालिम प्रभावकारी भएको बताए । आगामी दिनमा अझै लामो समयको तालिम आयोजना गर्ने व्यवस्था मिलाउन सहभागीले सुझाव दिए ।