कोरोना विशेष

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा गर्यो एक करोड २० लाख डोज खोप किन्ने प्रस्ताव


काठमडौँ –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ । ६० लाख नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।

सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको छ । अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी रहेको छ । चीनले हालै १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएको छ ।

त्यसमध्ये आठ लाख डोज खोप पठाइसकेको छ । मन्त्रिपरिषदमा प्रस्ताव लानुअघि स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिवलगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिदबारे छलफल गरेका थिए । चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको छ ।