कोरोना विशेष

संक्रमणदर घट्दो : असारबाट हट्ला त निषेधाज्ञा ?(भिडियोसहित)


काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । निषेधाज्ञाको लामो समयपछि कोरोना संक्रमणको दरमा पनि केही कमि आएको छ । संक्रमण दर घट्न थालेपछि निषेज्ञाधाज्ञालाई केही खुकुलो बनाउँदै लैजानुपर्ने आवाज उठ्न थालेको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण घरभित्रै थुनिएका नागरिक उकुस–मुकुस हुन थालेका छन् । एकमहिना भन्दा लामो निषेधाज्ञापछि कोरोना संक्रमणको दरमा केही कमी आउँन थालेको छ । यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताउन थालेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सहज बनाउनेपर्ने निष्कर्ष निकालिएको हो ।

उपभोक्ता अधिकारकर्मी सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाकाहरु बन्द गरि स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताउँछन् । लकडाउनमात्रै विकल्प नभएकाले विस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने उनीहरुको सुझाव छ ।

खुद्रा व्यापारीहरु पनि असार १ गतेदेखि निषेधाज्ञा बिस्तारै खुला गर्नुपर्ने बताउँछन् । निषेधाज्ञाले निम्न आय भएका नागरिकलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी खुकुलो पार्नुपर्नेमा उनीहरुको जोड छ ।

होटल संघ नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताउछ । सरकारका विभिन्न मन्त्रालयहरुबीच स्पष्ट नीति र समन्वय नभएको भन्दै निषेधात्रा कसरी खुल्ला गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट नीति आउनुपर्ने उनीहरुको भनाई छ ।

पर्यटन व्यवसायी पर्यटन क्षेत्रका व्यवसायी र मजदुरले कोरोना विरुद्धको दुवै मात्रा खोप पाइसकेको अवस्था रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै यस व्यवसायलाई सञ्चालन गर्न दिइनुपर्ने बताउँछन् । पर्यटन व्यवसायलाई चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाउँदै लानुपर्ने उनीहरुको जोड रहेको छ ।

निषेधाज्ञा खुकुलो पारेपनि स्वास्थ्य मापदण्डमा कडाइ गर्न भने सरकार चुक्नु हुँदैन । साथै कोरोनाको तेस्रो लहरको जोखिम पनि उत्तिकै रहेकोले त्यसको सामना गर्न आजैबाट तयारी थाल्नुपर्नेमा पनि सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।