बिजनेस

शेयर बजारमा राष्ट्र बैंकको लगाम, सर्ट टर्म कारोबारमा रोक


काठमाडौँ – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत सेयर बजारसँग सम्बन्धित तीन व्यवस्थामा परिमार्जन गरेको छ । राष्ट्र बैैंकले गरेको पहिलो नीतिगत परिमार्जन हो, अब नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्य भन्दा जुन कम छ सोही मूल्यको बढीमा ७० प्रतिशतसम्म मात्रै सेयर कर्जा दिन पाइने ।

यस अघि १२० दिनको अन्तिम मूल्यको औसत वा प्रचलित बजार मूल्य भन्दा जुन कम हुन्छ सो को ७० प्रतिशतसम्म कर्जा पाइन्थ्यो । नेपाल राष्ट्र बैंकले गरेको दोश्रो परिमार्जन गरेको बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर किनबेचमा कडाई हो । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले कोर क्यापिटलको ३० प्रतिशतसम्म सेयर कारोबार गर्न पाउँथे ।

कहिले किन्ने र कहिले बेच्ने भन्ने विषय बैंक तथा वित्तिय संस्थाहरु आफैं तय गर्न स्वतन्त्र थिए । तर अब भने क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले खरिद गरेको सेयर एक वर्षसम्म बेच्न पाउने छैनन् । एक वर्षपछि पनि प्राथमिक पुँजीको एक प्रतिशत बराबरको सेयर मात्रै बेच्न पाउनेछन् ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई लघुवित्त कम्पनीहरुको सेयर किन्न पनि रोक लगाइदिएको छ । ‘विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन ।’, नेपाल राष्ट्र बैैंकले भनेको छ । यो व्यवस्थाले लघुवित्त कम्पनीहरुको सेयर मूल्य घटाउन भूमिका खेल्ने सम्भावना छ ।