खेलकुद

युरोकपको नयाँ संस्करण आजबाट सुरु, उद्घाटन खेलमा इटाली र टर्की भिड्दै


काठमाडौँ – फिफा विश्वकपपछिको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता युरोकपको १६ औं संस्करण युरो २०२० आजबाट युरोपका विभिन्न ११ शहरमा सुरु हुँदै छ । अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष विलम्व भएर सुरु हुन लागेको हो ।

नयाँ संस्करणको उद्रघाटन खेलमा इटली र टर्की आमने सामने हुँदैछन् । यो खेल इटालिको प्राचीन शहर रोमस्थित ओलम्पिक रंगशालामा हुँदै छ । नेपाली समय अनुसार यो खेल रातिको १२ः ४५ मा हुनेछ । इटाली एक पटकको विजेता भईसकेको राष्ट्र हो । उसले सन् १९६८ मा यो उपाधि जितेको थियो । इटलीले अहिलेसम्म ९ पल्ट युरो खेलेको छ ।
इटाली अन्तिम पटक २०१२ को फाइनल खेलेको थियो । जसमा स्पेनसँग पराजित हुँदा उपाधि जित्नबाट बञ्चित बनेको थियो । टर्कीको भने त्यति लामो इतिहास छैन । सन् १९९६ देखि मात्रै उसले युरो खेल्न पाएको हो भने सन् २००८ मा सेमिफाइनलसम्म पुगेको थियो । टर्कीले अहिलेसम्म पाँचपल्ट युरो खेलेको छ ।

युरोपका २४ टोलीबीचको प्रतिस्पर्धालाई फिफा विश्वकपपछिको रोमान्चक फुटबलका रुपमा लिने गरिएको छ ।