समाचार

बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी


काठमाडौँ – अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ ।

शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले बताउनुभयो ।

भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेका थियौं,’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लामाले भने, ‘त्यसैले कर्मचारीचाहिँ सबै सुरक्षित छन् ।’

हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।