राजनीति

बाग्मती राष्ट्रिय सभाको उपनिर्वाचन आज


काठमाडौँ – बाग्मती प्रदेशको राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि बिहीवार (आज) उपनिर्वाचन हुदैँछ । आज मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा बिहान नौ बजे देखि तीन बजेसम्म निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले उम्मेद्वार बनाएका गृहमन्त्री रामबहादुर थापा बादल र एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डा.खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुन लागेको छ । निर्वाचनका लागि तीनवटा केन्द्र तोकिएका छन् । भुटनदवी माविमा प्रदेश सभा सदस्यका लागि (क), अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखका लागि (ख) र कोभिड–१९ संक्रमितका लागि (ग) गरी तीनवटा मतदान केन्द्र तोकेको छ । निर्वाचनमा मतादताहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने लगायत स्वास्थ्य मापदण्ड लागु गरिएको आयोगले जनाएको छ ।

आज हुन लागेको चुनावमा सत्तारुढ दल एमाले एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ भने यसकै कारण सहमती खोज्दै गरेको एमालेमा विग्रह हुने संकेत पनि देखिन्छ । एमाले विवाद समाधानका लागि कार्यदल बनेको छ । तर कार्यदलले हालसम्म कसलाई मत दिएर अघि बढ्ने भन्ने निक्र्योल गर्न नसक्दा एमालेमा समस्या देखिएको छ ।

एमालेका १३३ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये माधव पक्षका ३८ जना छन् । ५७ जना प्रदेश सदस्यमध्ये २२ माधवतिरका छन् । विहिबार हुने निर्वाचनमा माधव पक्षले जसलाई मत दिन्छ उहीँ नै निर्वाचित हुने पक्कापक्की छ । उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् ।