राजनीति

बागमती उपनिर्वाचनमा माधवको भोट कसलाई ?


काठमाडौँ – आसन्न जेठ ६ मा हुने बागमती प्रदेश अन्र्तगत राष्ट्रियसभाको उपनिर्वाचन आउन अब मात्र ६ दिन बाँकी छ । तीन उम्मेद्वारी दर्ता भएको रिक्त पदमा एमालेका मात्रै दुई उम्मेद्वार छन् । जसलाई जिताउन माधव पक्षको भूमिकालाई निर्णायक छ ।

गत बैशाख २४ मा बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको दाबेदारी गर्दै नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनको तर्फबाट डा.खिमलाल देवकोटाले उम्मेद्वारी दिए ।

नेकपा एमालेको माधव पक्षका उनलाई विपक्षी गठबन्धनमा कांग्रेसको समर्थन र माओवादी केन्द्रको प्रस्तावमाउम्मेद्वार बनाईएको हो । जसमा जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले समेत साथ दिएको छ । नयाँ सरकार निर्माणमागठबन्धनलाई सघाउने बचन दिएपछि विपक्षी माधव पक्षकै नेतालाई उम्मेद्वार बनाउन राजी भएका थिए । तर उम्मेदवारी दर्ता गराएको एक साता नबित्दै माधव पक्षको एकाएकको युटर्नले मुलुकको राजनीतिक समीकरण नै परिवर्तन भएको छ ।

विहिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तिक्तता चिर्दै एकहुने संकल्प गरिएपछि एउटै पार्टीका दुई उम्मेद्वार भिड्ने पक्का भएको छ ।

तर एमालेको ओली पक्ष यसलाई स्वीकार्दैन । सूर्य चिन्हसहितको आफ्नो आधिकारिक उम्मेद्वार गृहमन्त्री थापा भएकाले कलम चिन्ह लिएर उम्मेद्वार बनेका देवकोटालाई नचिन्ने उसको दाबी छ । यद्यपी माधव पक्षले अहिलेसम्म यस विषयमा मुख खोलेको छैन ।

चार पक्षको साझा उम्मेद्वार बनेका देवकोटाले यसअघि सहजै जित्ने सक्थ्ये । तर अहिले जेठ ६ को उपनिर्वाचन आउनमात्र ५ दिन बाँकी रहेका बेला माधव पक्ष पार्टीले उठाएका उम्मेद्वारलाई जिताउन लाग्छ कि आफुले उठाएका उम्मेद्वारीलाई मत दिएर अघि बढ्छ यकिन भएको छैन । जसले मतदिने प्रदेशसभा सदस्यहरुसमेत अलमलमा छन् ।

दुई नेताबीचको संबादले एमाले विवाद हल हुने र पार्टी विभाजन पनि हाललाई टरेका बेला माधव पक्षले जता मत दिन्छ उसैको पल्लाभारी हुने निश्चित छ । उपनिर्वाचनमा ११० प्रदेशसभा सदस्य र २३८ स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्दैछन् ।

एमालेका १३३ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये माधव पक्षका ३८ जना छन् । ५७ जना प्रदेश सदस्यमध्ये २२ माधवतिरका छन् । एमाले एक्लैको मतभार ५ हजार १ सय ३० भएको बागमतीमा अरु सबै एकातिर हुँदा पनि विपक्षमा ४ हजार ४ सय ५२ मतभार मात्रै छ ।

एमालेभित्र पनि माधव नेपाल पक्षमा एक हजार ७ सय ४० मत छ । जुन जता ढल्किन्छ उसकै पल्लाभारी हुनेछ । तर दुई धारमा विभक्त एमाले एककृत भएसंगै पार्टीको आधिकारिक उम्मेद्वारलाई नै मत दिएर जानुपर्ने बाध्यत्मक अवस्थाका अघि माधव पक्ष कसरी चल्छ त्यसैले निर्धारण गर्नेछ ।