अर्थनीति

बजेट कार्यान्वयन चुनौती : अर्थमन्त्री भन्छन्, चुनाव सँगसँगै कार्यान्वयन गर्छौं (भिडियोसहित)


काठमाडौँ – सरकाले चालू आर्थिक वर्षको अन्त्य सम्म ८ खर्ब ५९ अर्ब मात्र खर्च गर्न सकेको छ । यो कुल बजेटको ५८ प्रतिशत हो । बाँकी रहेको खर्च गर्न अब लगभग मुस्किल देखिन्छ । तर यस्तो अवस्था देख्दा देख्दै पुनः सरकारले वितरणमुखि बजेट ल्याएको छ ।

पूर्व अर्थ सचिव शान्तराज सुवेदी आगामी वर्ष बजेट पुर्ण रुपमा कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्छन । आगामी आ.व.मा स्रोत व्यवस्थापनमा चुनौती रहेको उनको दावी छ । आयोजना कार्यान्वयनको समस्या तथा सुशासनको पनि चुनौती हुनसक्ने भएकाले
यस्ता समस्यालाई बेलैमा सम्बोधन गर्न नसके बजेट कार्यान्वयन हुन गाह्रो हुने उनको तर्क छ ।

त्यस्तै , उद्योगी व्यवासायी पनि बजेट कार्यान्वयन हुनेमा आशंका रहेको धारणा राख्छन् । बजेट कार्यान्वयनको अवस्थाको मासिक रुपमा समिक्षा गर्न र आवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्न सरकार र नीजि क्षेत्र सम्मिलित समिति बनाउनुपर्ने उनीहरुको तर्क छ ।’

यता केन्द्रीय बैंक स्वयम पनि बजेट कार्यान्वयन गर्न चुनौती रहेको दावी गर्छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी आगामी आर्थिक वर्षका लागि तय गरिएका विभिन्न कार्यक्रमहरुले मौद्रिक नीति र मौद्रिक व्यवस्थापनलाई असर पार्ने बताउँदै त्यसले चुनौती सिर्जना गर्ने तर्क गर्छन् ।

तर अर्थमन्त्री विश्व प्रसाद पौडेल भने बजेट कार्यान्वय हुनेमा ढुक्क देखिन्छन । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने उनको तर्क छ । बजेट कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडी बढ्ने उनको दावी छ ।

चालू आवमा १२ खर्ब ६५ अर्ब खर्च गर्न सक्ने अनुमान गरेको सरकारले १६ खर्ब ४७ अर्बको ल्याएको बजेट खर्च गर्ला भन्ने आशंका रहेको छ । सरकारले संशोधन गरेको अनुमानभन्दा आर्थिक वर्ष २०७८÷७९ का लागि सरकारले ३० प्रतिशत बढी बजेट ल्याएको हो । यो सरकार चुनावी सरकार भएकाले चुनावसँगै आचारसंहिता पनि कार्यान्वयनमा आउने भएकाले सरकारले विकास बजेट खर्च गर्न सक्नेमा आशंका छ ।

निर्वाचन आयोग, सुरक्षा निकायका खर्च गर्दा चालू खर्च घटाउन सकिने अवस्था रहँदैन । सरकारले अहिले १० खर्ब ६६ अर्ब राजस्व उठाउँदै छ । अर्को आवमा अर्थात् नयाँ बजेटबाट ११ खर्ब ५२ अर्ब उठाउन कठिन नै हुने देखिएको छ ।