कोरोना विशेष

प्रदेश १ मा संक्रमण नियनत्रणमा खटिदा मृत्यु भए २५ लाख क्षतिपूर्ति


काठमाडौँ – कोरोना भाइरस नियन्त्रणमा खटिएका चिकित्सक तथा कर्मचारीको निधन भएमा प्रदेश १ सरकारले २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट सो रकम दिने निर्णय गरेको हो।

प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईका अनुसार सरकारद्वारा खटाई कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीको कोभिड–१९ का कारणबाट मृत्यु भएमा उक्त रकम प्रदान गरिने छ ।
साथै बैठकले कोरोना सम्बन्धि कुनै पनि खर्च भए सरकारले नै हेर्ने निर्णय पनि गरेको छ । नियन्त्रणमा खटिएका स्वास्थ्यमर्मी लगायतका कर्मचारी संक्रमित भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च पनि प्रदेश सरकारले व्यहोर्ने । कोभिड–१९ बाट संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने बताइएको छ।

यस्तै प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलव स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने पनि निर्णय बैठकले गरेको छ ।