खेलकुद

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो


काठमाडौँ – फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गर्न सफल भए । खेलको ८२ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २-० गोलको जित दिलाए ।

यो जितसँगै छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । चाईनिज ताईपेको यो छैटौं हार हो । अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ ।

अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।