मौसम

नेपालभर सक्रिय बन्दै मनसुन, सर्तक रहन आग्रह


काठमाडौँ – नेपालमा अहिले मनसुन निकै सक्रिय रहेको छ । शुक्रबार नेपालको पूर्वीभागबाट नेपाल छिरेको मनसुन प्रदेश १, २ बागमती र लुम्बिनी प्रदेश हुँदै देशभर फैलिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसपटक मनसुन भित्रिएसँगै पानी पर्न थालेको छ। काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार पानी परेको थियो। आइतबार पनि देशभर बदली रहेको छ। धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । ‘देशका धेरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

मौसमविद्हरुका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकोमा प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा ठूलो पानी पर्नेछ। राति पनि मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ। महाशाखाले वर्षाका कारण बाढी पहिरो आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

मनसुन देशभर फैलिने क्रममा रहेको र मंगलबारसम्म मुलुकभर कायम रहने मौसमविद्ले जानकारी दिएका छन्।