समाचार

तामाकोशीमा बाढी आउने जोखिम कायमै, सचेत रहन प्रशासनले आग्रह


काठमाडौँ – तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेको भन्दै सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोकिएकाले तामाकोशी आसपासका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो । शनिबार बिहानसम्म अवस्थामा उस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

अहिले पनि अवस्था उस्तै रहेको प्रशासन कार्यालयले जनाएको छ । नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिंग्री काउन्टीको रोंगसीया शहर र त्यसआसपासमा भारती वर्षासँगै पहिरो जाँदा स्थानीय नदीको प्रहार रोकिएको छ । थुनिएको नदीको बहाव कुनै पनि बेला खुलेर तामाकोशी नदीमा बाढी आउन सक्ने जोखिम रहेको छ । नेपाल–चीन सीमा नजिकका बस्तीसहित तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम कायम रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाल–चीन सीमा नजिकका बस्तीसहित तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम कायम रहेको बताउनुभयो ।