कोरोना विशेष

ग्रामीण भेगमा कोरोना संक्रमणदर उच्च : स्थानीय सरकारको तयारी शुन्य


काठमाडौँ – पछिल्लो समय कोरोना संक्रमणको दर घट्न थालेपछि सरकारले जारी गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने रणनीति बनाएको छ । तर शहरमा कोरोना नियन्त्रण हुदै गएको जस्तो देखिएपनि गाउँगाउँमा संक्रमणको दर भने उच्च बन्दै गएको छ ।

नियन्त्रणका लागि स्थानीय तहका जनप्रतिनिधि सक्रिय नहुने हो भने यसले अब गाउँ गाउँमा भयावह अवस्था सिर्जना गर्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

नेपालमा पछिल्लो सातादेखि कोरोना संक्रमणको दर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । दोस्रो चरण सुरु भएपछि जारी भएको निषेधाज्ञामा सुरुवातमा ९ हजार सम्म संक्रमित भेटिएकोमा त्यो संख्या घटेर अहिले ४ हजारको हाराहारीमा पुगेको छ । कोरोनाको संक्रमणको दरमा शहरमा केही नियन्त्रण भए जस्तोे देखिएपनि संक्रमणको दर गाउँ—गाउँमा भने फैलिँदै गएको छ ।

अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । यता प्रदेश २ का सिरहा, बागमती प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पूर्वमा सङ्क्रमण फैलिरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम, रुकुम पश्चिम र सुदूरपश्चिमको दार्चुलामा कोरोना तीव्र रूपमा फैलिरहेको छ । गाउँमा कोरोना सङ्क्रमण तीव्र बढेपछि अब पुनः गाउँबाट सहरमा कोरोना फैलने त्रास सिर्जना भएको छ ।

शहरमा कोरोना नियन्त्रणका प्रयास भएपनि दुर्गम क्षेत्रमा स्थानीय सरकारको उपस्थिति न्यून देखिन्छ । संक्रमणको दर बढ्दै जादा स्थानीय सरकारले न त परीक्षणको दायरा बढाएका छन् न त रोकथामका लागि प्रयास नै भएका छन् । एक त दुर्गमका नागरिक कोरोना परीक्षण गराउनै चाहदैनन् । दुर्गम भेगका नागरिक रोगप्रति आफै पनि उतिसाह्रो सचेत भएको पाईदैन । यसै कारण पनि ग्रामीण भेगमा संक्रमणको दर ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ । अबपनि कोरोना नियन्त्रणका लागि गाउँ गाउँमा स्थानीय तहका जनप्रतिनिधि र सामाजिक संघ—संस्था सक्रिय नहुने हो भने यसले भयावह अवस्था सिर्जना गर्न सक्ने देखिन्छ ।

सरकारले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लैजाने योजना बनाएपनि गाउँगाउँमा कोरोना नियन्त्रण नगर्ने हो भने पुनः गाउँबाट शहरमा संक्रमण फैलिन नसक्ला भन्न सकिन्न । यसका लागि बेलैमा स्थानीय तहका जनप्रतिधि अग्रसर हुन जरुरी छ । साथै नागरिक आफै पनि सचेत नहुने हो भने कोरोनाले भयावह अवस्था सिर्जना नगर्ला भन्न सकिन्न ।