मनोरञ्जन

कोरोना महामारीको कथा बोकेको ‘कथै कथा’ सार्वजनिक


काठमाडौँ – अहिले विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले त्रसित बनाइरहेको बेला गायक दावा के शेर्पाको ‘कथै कथा’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कृष्णप्रसाद उप्रेतीको शब्द तथा गायक शेर्पा स्वार तथा संगीत रहेको ‘कथै कथा’ म्युजिक भिडियो ‘शेर्पा फिल्म नेपाल यूट्युब च्यानल’बाट सार्वजनिक भएको हो । विश्वव्यापी महामारीले नेपालजस्ता देशका लाखौँ नागरिकलाई परेको पीडा समेटिएको गायक दावा के शेर्पाले जानकारी दिए । मानिसहरू अक्सिजन अभावमै ज्यान गुमाइरहेको स्थितिलाई म्युजिक भिडियोमा चित्रण गरिएको छ ।

विषय परिस्थितिमा सरकार, प्रतिपक्ष र मजदूरका पक्षमा ठूला–ठूला नारा लगाउनेहरू कहाँ छन् भन्ने प्रश्न भिडियोमा उठाइएको छ । संकटको वेला दुलोमा पसेका नेताहरू आगामी चुनावमा कसरी जनतासामु जालान् भन्ने जिज्ञासासमेत राखिएको छ ।

कोरोना महामारीविरुद्ध लड्ने सरकारी तयारी फितलो नै देखिएको, उपचार अभावमा संक्रमितको ज्यान गइरहेको विषय पनि उठाइएको छ ।

देशका धेरै क्षेत्रमा निषेधाज्ञा जारी भएपनि कोरोना रोकथामका लागि प्रभावकारी काम हुन नसकेको, संक्रमित र मृत्युदरमा कमी आउन नसकेको विषय पनि औल्याइएको छ । म्युजिक भिडियोको निर्देशन कर्मा शेर्पाले गरेका हुन् ।