अर्थनीति

एकैदिन १७ अर्बको सेयर कारोबार, नेप्से परिसूचक हालसम्मै उच्च


काठमाडौँ — पछिल्ला दिनमा सेयर बजारले दैनिक जसो नयाँ रेकर्ड बनाउँदै आएको छ ।

सोही क्रममा साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

निषेधाज्ञाको कारण अर्थतन्त्रका अन्य गतिविधि ठप्प भएपछि सेयर बजारमा सकारात्मक प्रभाव पर्न थालेको छ । आफू रहेकै स्थानबाट अनलाइनमार्फत सेयर कारोबार गर्न सक्ने भएकाले निषेधाज्ञाको समयमा पनि बजारमा सकारात्मक प्रभाव परेको जानकारहरु बताउँछन् ।