पर्यटन

आज १४औँ सगरमाथा दिवस : आरोहण भएको ६८ वर्ष पूरा, आरोहीको समस्या राज्यले बुझेन्


काठमाडौँ – आज (मे २९) सगरमाथाको सफल आरोहण भएको ठीक ६८ वर्ष पुगेको छ । ६८ वर्षअघि सन् १९५३ मे २९ तारिखका दिन आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको परिचय दिएका थिए ।

१४औँ सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइनुपर्ने हो तर कोरोनाका कारण यसवर्ष कुनै कार्यक्रम राखिएको छैन् । अघिल्ला वर्षमा पर्यटन मन्त्रालयले वर्षमा एक दिन कार्यक्रम गथ्र्यो । तर, यस वर्ष भने सरकारी निकायले सगरमाथा दिवसलाई भुलेको छ । मन्त्रालयका अधिकारीले शुभकामनासमेत दिएका छैनन् ।

सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको परिचय दिएका थिए । यहि दिनको सम्झना हरेक वर्ष दिवस मनाउने गरिन्छ । आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

कुनै समय धर्मराज थापाको स्वरमा ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा…..’ रेडियो नेपालमा खुबै बज्थ्यो । समय बित्दै जाँदा यो गीत पनि विस्तारै कम बच्न थाल्यो । न्युजिल्यान्डका एडमन्ड हिलारीसँग सगरमाथा चढेका तेन्जिङबारे अनेक किस्सा सुनिन्थे । अहिले थुप्रै तेन्जिङहरू सगरमाथा आरोहण गर्छन । तर, उनीहरू चर्चामा आउँदैनन् ।

वर्षैपिच्छे हजारौंले सगरमाथा, धौलागिरि, मनास्लुलगायत हिमाल आरोहण गर्छन् । पर्वतारोहीका रूपमा सीमित मान्छेको नाम चर्चामा आउँछ । तर, उनीहरूलाई चुचुरोसम्म गर्‍याउन ज्यानको बाजी लगाएर सघाउनेहरू गुमनाम हुन्छन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २५औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।
सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।
तेन्जिङ शेर्पा– पर्वतारोहणको क्षेत्रमा एउटा त्यस्तो अजर, अमर र सम्मानित नाम हो, जसको सम्झना नेपालमा मात्र हैन, विश्वभर नै अति सम्मान र श्रद्धाका साथ गरिने गर्छ । नेपालको एउटा दुर्गम र विकट गाउँ त्सा–चुमा जन्मेका एउटा अति साधारण परिवारका व्यक्ति तेन्जिङको नाम मानव इतिहासकै पाटोमा अब असाधारण र अविस्मरणीय बनिसकेको छ ।