Breaking

अब बन्ने मन्त्रिपरिषद्विस्तारमा खनाल–नेपाल र ठाकुर–महतो पर्न सक्छन् ?


काठमाडौँ – नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि शुक्रबार ९आज० पद तथा गोपनियताको शपथ लिँदै छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ आज अपरान्ह हुनेछ । राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार ९ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत भएको थिएन । बहुमतको दाबी कसैले नगरेपछि ओलीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री पदमा सत्तारोहण गर्ने अवसर जुटेको हो।

संसद्मा विश्वासको मत नपाए पनि पुनः प्रधानमन्त्रीमा नियुक्त भएका प्र्रधानमन्त्री ओलीले अब बन्ने मन्त्रिपरिषद्मा आफ्नै दलका असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल खेमा नेतालाई मन्त्रिपरिषद्विस्तारमा ठाँउ दिन सक्छन् । त्यस्तै वैशाख २७ मा ओलीले गरेको विश्वासको मत प्रस्तावमा तटस्थ बसेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुलाई पनि मन्त्रिपरिषद्मा अटाउन सक्ने आँकलन गरिएको छ । यसो हुँदा ३० दिनपछि फेरि हुने विश्वासको मतमा ओलीको पक्षमा मत आउन सक्छ । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

अब पनि प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिन सकेनन् भने संविधानमा उल्लेख गरिए अनुसार धारा ७६ को ५ अनुसार नयाँ प्रधानमन्त्रीको नियुक्ति हुने छ । यो उपधारका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
धारा ७६ को ६ बमोजिम नियुक्त भएका प्रधानमन्त्रीले पनि विश्वाको मत लिनसक्नु पर्छ । यदि फेरि पनि विश्वासको मत विपक्षमा मत आए देश मध्यावधि चुवावमा जाने प्रावधान रहेको छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।