अन्तत नेकपा र कांग्रेसको अधिवेशन नहुने निश्चित, विज्ञहरुले गरे यस्तो दाबी

अन्तत नेकपा र कांग्रेसको अधिवेशन नहुने निश्चित, विज्ञहरुले गरे यस्तो दाबी

काठमाडौँ  - सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दलले तोकिएकै मितिमा पार्टीका महाधिवेशन सम्पन्न हुने दाबी गरेपनि विज्ञहरुले भने आशंका व्यक्त गरेका छन् । पार्टीकै नेता र जनता भुल्याएर आफू राजनीतिमा रहिरहन चालेको कदमलाई महाधिवेशन बुझेको भन्दै विज्ञहरुले शीर्ष नेतृत्वको आलोचना गरेका हुन् । 

राजनीतिक दलमा नयाँ नेतृत्व निर्माणका लागि हरेक चार वा पाँच वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, महाधिवेशनको मिति कटिसक्दा पनि नेपालका राजनीतिक दलको नेतृत्व भने अनेक दाउपेच र भागबण्डाका खेल खेलिरहन्छन् । यसको पछिल्लो उदाहरण हो, सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकता महाधिवेशनको आगामी चैतमै हुनेमा कतिपय नेता विश्वस्त छन् ।

एकता महाधिवेशन नभएसम्म नेतृत्वको भागबण्डामा झगडा बढिरहने हुँदा तोकिएकै मितिमा अधिवेशन हुनुपर्नेमा नेताहरुको जोड छ । तर, नेकपा र कांग्रेसका शीर्ष नेतृत्वहरु भने सकेसम्म महाधिवेशन टार्दै जाने मनस्थितिमा देखिएका छन् । हाल संस्थापनको समयावधि सकिएर ६ महिना थप भइसक्दा पनि कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन टार्ने पक्षमा छन् । तर, संस्थापनइतर भने तोकिएकै मितिमा अधिवेशन हुनुपर्नेमा जोड दिन्छ ।

नेकपा र कांग्रेस नेतृत्वले नेताहरुलाई भुल्याउन महाधिवेशनको कार्ड फाले पनि उनीहरुले समयमै महाधिवेशन गर्नेमा विज्ञ भने आशंका व्यक्त गर्छन् । नेकपा र कांग्रेसको मात्रै होइन, भर्खरै मात्रै एकता गरेको मधेश केन्द्रित दल जनता समाजवादीको पनि एकता महाधिवेशन गर्ने तयारी छैन । हरेक दलका नेताहरु संस्थागत भन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त हुँदा विकास र समृद्धिका नारा मात्रै होइन, दलभित्रै पनि अराजकता मौलाइरहेको छ । तर शीर्ष नेता भने आफ्नै दुनो सोझ्याउनमै व्यस्त छन् ।