दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीको अप्रेसन गरिने

दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीको अप्रेसन गरिने

काठमाडौँ   -  दुर्घटनामा घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीको अप्रेसन गरिने भएको छ । आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा घाइते भएका भण्डारीको हात र खुट्टामा चोट देखिएपछि अप्रेसन गर्ने तयारी भएको हो । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीसँगै करन ठगुन्नालाई चोट लागेको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट गएराति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएका उनको सिटी स्क्यान रिपोर्ट सामान्य आएको आफूले जानकारी पाएको राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले बताए ।