सामाजिक सञ्जाल कति सामाजिक ?

सामाजिक सञ्जाल कति सामाजिक ?

काठमाडौँ - घरमा वाइफाई जोडेको करिब महिना दिन भइसकेको थियो । घरमै वाइफाई भएपछि ममीबाबाको पनि फेसबुक एकाउन्ट बनाइदिएका थियौँ । एकदिनको कुरा हो, समय करिब रातको आठ बज्न लागेको थियो । त्यत्तिकैमा म्यासेन्जरमा म्यासेज आएको आवाज आयो । म्यासेज कसको रहेछ भनेर खोल्दा त ममीको रहेछ । भान्साबाट ‘खाना पाक्यो, खान आऊ’ भनेर बोलाउनुभएको रहेछ । 

म्यासेज त सामान्य नै थियो तर भनिन्छ नि कहिलेकाहीँ सामान्य कुराले पनि मान्छेलाई असामान्य बनाउँछ । त्यस्तै असामान्य मलाई त्यो म्यासेजले बनायो । एउटै घरमा हुँदाहुँदै पनि ‘खाना खान आऊ’ भन्नका लागि ममीले प्रयोग गर्नुभएको शैलीले मलाई सामाजिक सञ्जालको प्रयोगबारे थुप्रै प्रश्न दिएर गयो । सोच्न बाध्य बनाइदियो । सोच्दै जाँदा तयार भयो यो लेख । 

सामाजिक सञ्जाल कति सामाजिक छ ? सामाजिक सञ्जाल सामाजिक बढी छ कि असामाजिक बढी ? यस्ता प्रश्न सामाजिक सञ्जालका सन्दर्भमा समयसमयमा उठिरहेका हुन्छन् र मिश्रित किसिमका जवाफ आउँछन् । आजको युगमा हरकोही सजिलै सामाजिक सञ्जालमा  भेटिन्छन् । प्रधानमन्त्री , राष्ट्रपति देखि लिएर सामान्य नागरिक पनि सामाजिक सञ्जाल को प्रयोग गर्छन् । सामाजिक सञ्जाल अहिले समय कटाउनका लगि प्रयोग गरिने माध्यम मध्येमा एक नम्बरमा स्थापित भइसकेको छ । ५÷६ कक्षा पढ्दै गरेका बालबालिका देखि ५०÷६० वर्ष उमेरका मानिस सामाजिक सञ्जाल चलाइरहेका हुन्छन् । हरेक उमेर समूहका मानिस व्यक्तिगत इच्छा तथा मनसायबाट प्रेरित भएर सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छन् । कसैलाई सामाजिक सञ्जालमा लाइक, कमेन्टको खेती गर्नु छ, कसैलाई माया–प्रेम खोज्नु छ । कसैलाई सामाजिक सञ्जालबाटै प्रख्यात हुनुछ । कोही चाहिँ दैनिकका  घटना तथा समाचारको अपडेट हुनका लागि सामाजिक सञ्जालको प्रयोग गर्छन् । 

यसरी आफ्नो दबदबा दिनप्रतिदिन बढाइरहेको सामाजिक सञ्जाललाई एकथरी बुद्धिजीवीहरूले असामाजिक सञ्जालको ट्याग लगाइदिएका छन् । हुन पनि अहिले सामाजिक सञ्जालमा सामाजिकभन्दा पनि असामाजिक क्रियाकलाप बढी भइरहेका छन् । यसको गलत प्रयोग गरी कर्तव्यवान्, निष्ठावान् व्यक्तिको चरित्र हत्या हुने गतिविधि दिनानुदिन बढिरहेका छन् । झुटा, भ्रमयुक्त सामग्री सम्प्रेषण गरी त्यसलाई शेयर गरी लाखौँ मानिसहरूबीच पुर्याइन्छ र अचम्मको कुरा के छ भने अधिकांश मानिसहरू त्यसको स्रोत, वैधता पुष्टि नभई त्यसैलाई सत्य ठानी भ्रममा परिरहेका हुन्छन् । सामाजिक सञ्जालमा अपलोड गरिने कतिपय सामग्रीले धेरैको भविष्य नै अन्धकार बनाइदिएको पनि छ । 

विशेषगरी महिला वर्ग सामाजिक सञ्जालमा हुने असामाजिक व्यवहारका कारण विभिन्न समस्याबाट पीडित भइरहेका हुन्छन् । तिनै पीडा सहन नसकेर कतिपयले आत्महत्या गरेका समाचार पनि हामी सुनिरहेका हुन्छौँ । अहिलेको आशलाग्दो जमात युवा वर्ग सामाजिक सञ्जालमा यसरी हराएका छन् कि, उनीहरूलाई यही नै वास्तविक संसार हो जस्तो भ्रम परिसकेको छ । दिनकै तीन–चार घण्टा त्यसैमा समय व्यतीत गर्छन् । जसले गर्दा उनिहरू विभिन्न किसिमका मानसिक रोगहरूबाट पीडित भइरहेका हुन्छन् । हाँस्ने, खेल्ने उमेरमा डिप्रेसन, एन्जाइटी जस्ता डरलाग्दा मानसिक रोगबाट गुज्रिरहेका हुन्छन् र अन्तमा आत्महत्यासम्मको बाटो रोज्छन्, सामाजिक सञ्जालकै कारण । 

कतिपय मानिस भित्रबाट खोक्रो भइसकेका हुन्छन् । तर उनीहरूलाई सामाजिक सञ्जालमा राम्रो देखिने हुटहुटी भइरहेको हुन्छ । वास्तविक जीवनमा आफैँ यौनपिपासुहरू सामाजिक सञ्जालमा आएर निर्मला पन्तको लागि न्याय मागिरहेका हुन्छन् अर्थात् न्याय माग्ने ढोङ गर्छन् । यस्तै परिपाटीले गर्दा सामाजिक सञ्जालले अहिले असामाजिक सञ्जालको संज्ञा पाइरहेको छ । 

सामाजिक सञ्जालमा सबै असामाजिक, सबै खत्तम, सबै नराम्रा क्रियाकलाप हुने मात्र हुने चाँहि हैनन् । यहाँ सामाजिक, तारिफयोग्य क्रियाकलाप पनि भइरहेका हुन्छन् । हाम्रै देशमा केही समय अगाडि कोरोनाले आक्रान्त भइरहेका बेला सरकारले स्वास्थ्य सामग्री आयातमा गरेको भ्रष्टाचार र लापरबाहीविरुद्ध, सामाजिक सञ्जालबाट युवा एकीकृत भई ‘इनफ इज इनफ’ भन्ने अभियानको शुरुवात गरेका थिए । पछि यो अभियान सडक प्रदर्शन हुँदै सरकारसँग वार्ता गर्दै मत्थर भएको थियो । आजका सरकार सडकमा हुने प्रदर्शनका साथसाथै सामाजिक सञ्जालमा हुने आलोचना, विरोधहरूले तरंगित भइरहेका हुन्छन्, डराइरहेका हुन्छन् । 

यस्तै घटना एक साता पहिले पनि घटेको थियो । सामाजिक सञ्जालमा निर्मला पन्तलाई न्यायका लागि युवाले अनौठो अभियान चलाएका थिए । देशका प्रधानमन्त्री, राष्ट्रपति, सर्वोच्च अदालत, नेपाल प्रहरी, मानव अधिकार आयोग लगायत अन्य जोसँग सम्बन्धित छन् विभिन्न व्यक्ति तथा संस्थाको आधिकारिक फेसबुक अकाउन्टमा रहेको फोटोमा ‘जस्टिस फर निर्मला पन्त’ लेखेर कमेन्टको ओइरोे लगाइदिका थिए । सामाजिक सञ्जालमा गरिएको यो यति सशक्त अभियान थियो कि थुप्रै राष्ट्रियस्तरका टेलिभिजन र पत्रपत्रिकामा यसले ठाउँ पाएको थियो । विदेशतिर भएको भए यस्ता अभियानले सरकार ढल्नेसम्म पनि हुन्थ्यो । तर हाम्रो देशमा नेता तथा पार्टीहरू जनताप्रति गैरजिम्मेवार भइसकेका भएर यसले एक किसिमको माहोल त बनायो तर नतिजा अहिलेसम्म आइसकेको छैन । आशा गरौँ छिटै आउनेछ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाशसरोवर जाने बाटो उद्घाटन गर्यो । यसको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइसकेपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाउनेदेखि लिएर नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समावेश गरेर नयाँ नेपाली नक्सा जारी गर्यो । अहिले नागरिक समाजदेखि लिएर प्रमुुख प्रतिपक्षी दलले निभाउनु पर्ने धर्म सामाजिक सञ्जाल चलाउने युवाले निभाइरहेका छन् ।

सामाजिक सञ्जाल ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भएको छ । सदुपयोगले ज्ञान हासिल तथा समय कटाउन सकिन्छ । दुरुपयोग तथा गलत प्रयोगले विभिन्न किसिमका जालझेल र मानसिक रोगको शिकार भइन्छ । कुनै पनि वस्तु आफैँमा नराम्रो हुने चाँहि हैन । कसले प्रयोग गर्छ, कुन मनसायले प्रयोग गर्छ जस्ता कुराले गर्दा राम्रो, नराम्रो छुट्टिने हुने हो । तसर्थ सामाजिक सञ्जाल आफैँमा असामाजिक, खराब चाँहि होइन ।  सामाजिक हुँदाहुँदै पनि सामाजिक सञ्जाललाई असामाजिक बनाइएको छ । त्यसैले यसमा हुने असामाजिक क्रियाकलाप तथा बेथिति न्यूनीकरण गर्दै जाने हो भने सामाजिक सञ्जाल सदाबहार सामाजिक रहनेछ ।